अद्वितीय ध्यान विधि मानव जातिलाई सर्वव्यापी चेतनासँग जोड्ने सरल र सहज माध्यम: प्रदेश प्रमुख भट्ट

पाेखरा | मंसिर १४, २०८१

अद्वितीय ध्यान विधि मानव जातिलाई सर्वव्यापी चेतनासँग जोड्ने सरल र सहज माध्यम: प्रदेश प्रमुख भट्ट

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अद्वितीय ध्यान विधि मानव जातिलाई सर्वव्यापी चेतनासँग जोड्ने एक सरल र सहज माध्यम भएको बताउनुभएको छ ।
 

हिमालय समर्पण ध्यान योग नेपालले गण्डकी प्रदेश सभा सचिवालयको व्यवस्थापनमा पोखरामा आयोजना गरेको ध्यान योग शिविरमा बोल्दै प्रदेश प्रमुख भट्टले शरीर र आत्मासँगको जोड नै योग भएकाले हामीलाई आफ्नो अन्तर आत्मासँग जोडिन योगले मद्धत गर्ने बताउनुभयो ।

‘आज मानिसहरू अशान्ति, तनाव, अंहकार जस्ता रोगहरूबाट पीडित छन् । यसबाट मुक्तिका लागि ध्यान र योगको आवश्यकता छ । यो हो । योग भनेको जोड हो । ध्यानका लागि कुनै रकम खर्च गर्नुपनि पर्दैन । सम्पूर्ण मानव जातिलाई ध्यान सर्वसुलभ छ ।’ उहाँले भन्नुभयो ।
 

ध्यानले आफ्नै आत्मासँग हाम्रो सम्बन्ध गाँसिदिने र त्यसपछि हाम्रो आत्माले हामीलाई मार्गनिर्देशन गर्ने उल्लेख गर्दै उहाँले ध्यान जति गहन हुँदै जान्छ, त्यति नै हामीमा शरीरभाव कम हुँदै जाने र आत्मभाव वृद्धि हुन थाल्ने बताउनुभयो ।  
 

शरीर, मनको स्वस्थतासँगै जीवनमा सफलताका लागि योग आवश्यक छ । ध्यान गर्दा हाम्रो विचार सन्तुलित हुन्छ । योग शब्द र शारीरिक क्रियालाई मात्र महत्व दिएर योगको मर्म पूरा हुँदैन। योगसँगै ध्यान पनि जोडिने गर्दछ ।
 

उहाँले भन्नुभयो – ‘ध्यानले हरेक कुराको मार्गदर्शनको ढोका खुल्न थाल्नेछ । यो हिमालय समर्पण ध्यानयोग संस्कार विश्व चेतनासँग जोडिने एक सरल र सशक्त माध्यमका रुपमा मैले बुझेको छु ।’
 

सन्तुलित विचारले सन्तुलित व्यक्तित्व निर्माण हुने र जीवनमै सफलता प्राप्त हुनेमा जोड दिँदै भट्टले आयुर्वेदका अनुसार जहाँ शरीर, मन, आत्मा र पर्यावरणबीच सद्भाव रहन्छ, त्यो नै स्वास्थ्य सन्तुलनको स्थिति रहेको उल्लेख गर्नुभयो ।

‘हाम्रो जीवनको मुक्ति साधना हो । साधना विना कुनैपनि क्षेत्रको सफलता सम्भव छैन । सफलताको लागि कर्म गर्नुपर्दछ । कर्म असल भयो भने मात्र सफलता सम्भव छ ।’ भट्टको भनाई छ ।
 

यस संस्थाको आयोजनामा भोलि बिहान पोखरा रंगशालामा जीवन रूपान्तरणको लागि हिमालयन ध्यानयोग अन्र्तमनको शान्तियात्रा २०८१, आत्मिक शुद्धिका लागि निःशुल्क अद्वितीय ध्यान शिविर हुँदै गरेकोमा यस कार्यक्रमको पूर्ण सफलताको शुभकामना पनि उहाँले व्यक्त गर्नुभयो ।
 

हिमालयमा तपस्या गर्नुभएका ऋषिमुनीहरूका परमप्रिय शिष्य, नेपालमा बुद्धत्व प्राप्त गर्नुभएका बुद्ध पुरुष महर्षि श्री शिव कृपानन्द स्वामीजीलाई नेपाल भ्रमण वर्ष २०२० को पर्यटन सद्भावना दूतका रुपमा नेपाल सरकारले नियुक्त गरेको थियो ।
 

४५ वर्ष अघि श्री पशुपतिनाथबाट अध्यात्मिक यात्रा सुरु गर्नुभएका स्वामीजीले रसुवा जिल्लाको हिमाच्छादित गुफामा तपस्या गर्नुभएको थियो ।

 

उनै स्वामीजीको सान्निध्यमा जीवन रूपान्तरणको लागि अद्वितीय हिमालयन ध्यानयोग प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्